“नेपाल बलियो र कठिन प्रतिद्वन्द्वी हो”: कप्तान सुनिल क्षेत्री

47

काठमाडौं : नेपालसँग तय भएका दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली सोमबार नेपाल आइपुगेको छ । भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते प्रतिस्पर्धा गर्दै छ ।

“नेपाल बलियो र कठिन प्रतिद्वन्द्वी हो”: कप्तान सुनिल क्षेत्री
कप्तान सुनिल क्षेत्री। (फाइल फोटो .AIFF)

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदै छ । त्यसकै तयारीका लागि नेपाल र भारतबीच मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले छिमेकी देश भारतसँग सन् २०१८ को विश्वकप छनोट खेलमा प्रतिस्पर्धा गरेको थियो । सो खेल गोल रहित बराबरीमा सकिएको थियो ।

सोमबार मैत्रीपूर्ण खेल खेल्न नेपाल आउँदा भारतीय टोलीका कप्तान सुनील क्षेत्रीले नेपाली भाषामा नै सञ्चार माध्यमलाई प्रतिक्रिया दिए । उनले हजुरबा, हजुरआमा, आमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउँदै नेपाली टोलीको खेलको पनि प्रशंसा गरे । त्रिभुवन विमानस्थलमा आइपुगेपछि सञ्चारकर्मीसँगको अन्तरवार्ताको सम्पादित अंश :

नेपालमा आएर मैत्रीपूर्ण खेल खेल्दै हुनुहुन्छ । साफ च्याम्पियनसिप अगाडिको तयारी खेललाई कसरी लिनुभएको छ ?

नेपालमा आएर खेल्न पाउँदा खुसी छौं । नेपालसँगको खेल त्यति सहज छैन । यसको निकै ठूलो महत्व छ । अहिले कोभिड–१९ का कारण अवस्था कठिन छ । यस्तो अवस्थामा पनि नेपालले आतिथ्य दिएर बोलाएको छ । नेपालसँग मैत्रीपूर्ण खेल खेल्न पाउँदा खुशी लागेको छ ।

नेपाली टोलीलाई कसरी हेर्नुहुन्छ ?

भारतीय राष्ट्रिय फुटबल टिमका कप्तान सुनिल क्षेत्री। (फाइल फोटो: IANS)

यसअघि पनि हामीले नेपालसँग खेलेका छौं । नेपाल बलियो र कठिन प्रतिद्वन्द्वी हो । पछिल्लो समय राम्रो प्रदर्शन गरेर राम्रो नतिजा निकालिरहेको छ । एएफसीमा त्रिभुवन आर्मी क्लबले राम्रो खेल्यो । नेपालले सधैं राम्रो खेल्ने गर्छ, टोली फर्ममा छ ।

भारतले साफ च्याम्पियनसिपको तयारी कसरी अगाडि बढाएको छ ?

अहिले हाम्रो अवस्था निकै कठिन छ । कोरोना महामारीका कारण हाम्रो लिग खत्तम भइसकेको छ । दुई क्लबले मात्र अभ्यास गरिरहेका छन् । साफ च्याम्पियनसिपका लागि दुई हप्तादेखि तयारी गरिरहेका छौं । तर त्यहाँ सिनियर खेलाडी कमै छन् । यस्तो अवस्थामा नेपालसँग हुने दुई मैत्रीपूर्ण खेल हाम्रो लागि निकै महत्वपूर्ण छन् ।

यी दुई खेलपछि हामी साफ च्याम्पियनसिपका लागि माल्दिभ्स जानेछौं । हाम्रा धेरै सिनियर खेलाडीले एएफसी कपमा खेलेका छन् । दुईवटा क्लबका ८ खेलाडी माल्दिभ्समा खेलिरहेका छन् । जसका कारण हामी समयमा नै अभ्यास शुरु गर्न सकेनौं । टोलीमा जुनियर खेलाडी समावेश भएका छन् । उनीहरुको प्रदर्शनबाट प्रशिक्षक सन्तुष्ट छन् । म पनि पछिमात्र टोलीमा आबद्ध भएको हुँ ।

सुनील क्षेत्रीका फ्यान नेपालमा पनि धेरै छन् । नेपालमा खेल्दा कस्तो अनुभव हुन्छ ?

नेपालमा खेल्न पाउँदा निकै खुसी लाग्छ । मेरा हजूरबा, हजूरआमा यहीँबाट हुनुहुन्थ्यो । ममी पनि यहीबाट हुनुहुन्छ । अहिलेको महामारीको अवस्थामा सबैजना सुरक्षित हुनुहुन्छ । सबै नेपालीलाई सुरक्षित भएर बस्न आग्रह गर्छु ।

श्रोत: आनलाइनखबर.कम

पिछला लेखसिकन्दर राजा ईपीएलको चौथो संस्करण विराटनगर वारियर्स बाट खेल्ने
अगला लेखअय्यर र राहुलको शतकमा भारतले नेदरल्याण्डलाई १६० रनले हरायो