एसियाली खेलकुदको तेक्वान्दोका रजत विजेता सविता राजभण्डारी र उनका पति किशोर श्रेष्ठले कोरोना भाइरसको सन्त्रास र लगातारको लकडाउनका कारण मारमा परेका कमजोर आर्थिक अवस्थाका खेलाडीका परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघ (डब्लूकेकेओ नेपाल) का अध्यक्ष अशोककुमार श्रेष्ठलाई समस्यामा परेका खेलाडी परिवारको पहिचान गरी वितरण गर्न एक सय ५० परिवारका लागि राहत हस्तान्तरण गरे। उपत्यका र आसपासका जिल्लाका क्योकुसिन कराँते खेलाडीलाई चामल, तेल, नुन, गेडागुडी, सोयाबिन र साबुन प्रदान गरिएको संघकी उपाध्यक्ष हेमा मानन्धरले जानकारी दिइन्।
सविता र किशोरकै सहयोगमा यसअघि काठमाडौं महानगरपालिका वडा ११ का दैनिक ज्यालादारी गरी गुजारा चलाउने मजदुरलगायतका प्रभावित दुई सय परिवारलाई राहत वितरण गरिएको थियो। त्यसबेला सदस्यसचिव सिलवालले वडाध्यक्ष हीरालाल तण्डुकारलाई राहत हस्तान्तरण गरेका थिए।
सविता १९९८ को बैंकक एसियाडकी रजत विजेता हुन्। किशोरले पनि सोही एसियाडमा कांस्य जितेका थिए। उनीहरू लामो समयदेखि अमेरिकाको सियाटलमा बस्दै आएका छन्।
विदेशी खेलाडीलाई राहत
पूर्वराष्ट्रिय फुटबल खेलाडी सुन्दर थापाले पनि लगातारको लकडाउनका कारण नेपालमै अड्किएका विदेशी फुटबल खेलाडीलाई खाद्यान्न सहयोग गरेका छन्। वेस्ट काठमाडौं फुटबल क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीका उपसंयोजक थापाले सोमबार काठमाडौंको नयाँबजारमा रहेका विदेशी खेलाडीलाई खाद्यान्न सहयोग गरेका हुन्। नेपालमा बसेर विभिन्न क्लबबाट सहिद स्मारक ए डिभिजन लिगलगायत विभिन्न प्रतियोगिता खेल्दै आएका करिब १० जना विदेशी खेलाडीलाई थापाले खाद्यान्न सहयोग गरेका हुन्।
उनले चामल, दाल, नुन, तेल, बिस्कुटसँगै विभिन्न तरकारी सहयोग गरेका थिए। थापाले नेपालमा बसेर फुटबल खेलिरहेका अन्य विदेशी खेलाडीलाई पनि निरन्तर रूपमा सहयोग गरिरहने जानकारी दिए।