ओलम्पिक: नेपालबाट एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने

NPLSPORTS

जुलाई 2, 2021 एथलेटिक्स 1 min read
26 Views

काठमाण्डाै – आउँदाे महिना जापानको राजधानी टोकियोमा सुरु हुने ओलम्पिकमा नेपालबाट एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

यसअघि म्याराथनमा गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने तय भए पनि टोकियो ओलम्पिक कमिटीले असहमति जनाउँदा पार्कीका सट्टा चौधरीले सहभागिता जनाउने भएकी हुन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल र नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीव विक्रम शाहले आज संयुक्त विज्ञप्ति जारी गर्दै पार्कीका सट्टा चौधरीले टोकियो ओलम्पिकमा सहभागिता जनाउने सार्वजनिक गर्नुभएको हाे।

पार्कीको सहभागिता सम्भव नभएकाले चौधरीले प्रतिस्पर्धा गर्ने विज्ञप्तिमा उल्लेख छ । युनिभर्सिटी प्लेसमार्फत ओलम्पिकमा सहभागिता सुनिश्चित गर्नका लागि सम्बन्धित खेलको अन्तर्राष्ट्रिय महासङ्घको प्राविधिक कमिटीबाट निर्णय हुने भएको हुँदा म्याराथनका हकमा कोटाभन्दा धेरै आवेदन परेको हुँदा नेपाललाई म्याराथनमा नभइ एथलेटिक्स विधाको १०० मिटर दौडमा कोटा छुट्याइएको जानकारी प्राप्त भयो, विज्ञप्तिमा भनिएको छ ।’

पार्कीको सहभागिताबारे आयोजक असहमत भएपछि चौधरीको नाम सर्वसम्मत छनोट गरिएको सदस्य सचिव सिलवालले जानकारी दिनुभयो । आयोजकले म्याराथनको सट्टा एक सय मिटरतर्फ महिलालाई मात्र स्थान दिन सक्ने भनेर पत्र पठाएपछि चौधरीको नाम छनोट गरिएको उहाँको भनाइ छ । चौधरीले एथलेटिक्सको महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन् ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आबद्ध  चौधरीसहित पौडीकी गौरीका सिंह र एलेक्स शाह, सुटिङकी कल्पना परियार तथा जुडोकी सोनिया भट्टले पनि टोकियो ओलम्पिकमा सहभागिता जनाउने छन् । टोकियो ओलम्पिक आउँदाे साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने तय भएको छ ।

श्रोत: उज्यालोआनलाइन.कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *